काठमाडौँ– सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा उनीमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १० दिनको म्याद दिएको हो।
कात्तिक २ गते पक्राउ परेका रविलाई थुनामा राख्न अदालतले दोस्रोपटक दिएको म्याद कात्तिक १५ गते सकिएको थियो। सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो। उनीसँगै छविलाल जोशीलाई पनि थुनामा राख्न अदालतको आदेश छ।
कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।
त्यसपछि ७ दिनको म्याद थपिएकोमा तिहार बिदाले अदालत बन्द भएपछि मंगलबार अदालतमा उपस्थित गराइँदै छ।
प्रहरीले लामिछानेको सरकारी वकिलको रोहबरमा बयान लिइरहेको छ। उनलाई आज म्याद थपका लागि तेस्रो पटक अदालत उपस्थित गराइँदै छ।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि अनुसन्धानका लागि उपस्थित गराइदिन पत्राचार गरेकाले म्याद थपपछि पठाउने कास्की प्रहरीको तयारी छ।
लामिछानेविरुद्ध रुपन्देहीमा पनि पूरक जोहेरी परेको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई बुटवल लैजाने सम्भावना पनि रहेको छ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज अदालतमा पेस गरिएको हो।
उनी गएको असोज ६ गते पक्राउ परेका थिए।


