काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै ‘प्रधानमन्त्रीलाई मारौँ’ भन्दै भिडियो बनाउने युवालाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको क्रममा ‘प्रधानमन्त्रीलाई मारौँ’ भन्दै भिडिओ बनाएको आरोपमा रतन कार्कीलाई पक्राउ गर्ने तयारी भएको हो।
बंगलादेशसँग नेपालको खेल सुरु हुनुअघि प्रधानमन्त्रीको नाम नलिई ‘सबैले छेकेर आज बुढोलाई मारौँ, नत्र भोलि त्यो मौका नआउन सक्छ’ भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
‘तपाईंले गेम हेरिरहनुभएको होला, मैले अरू नै केही हेरिरहेको छु। आज हामीले मार्न सकिन्छ के! चाहे भने त्यतिको मान्छे छन्। बाहिर ग्रूप बनाएर घेरेर फ्याट्टै मार्न सकिन्छ। आज मार्यौँ भने मारेको मार्यै हुन्छ। आँटौँ त आज। घेरै टाइम छैन बूढो गइहाल्छ। आज गरिएन भने हामी पछुताइन्छ,’ उनले भिडियोमा भनेका छन्।
खेलमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए। खेलको अन्त्यमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी पनि भएको थियो।
कार्की जापानमा छन्। उनलाई पक्राउ गर्न नेपाल प्रहरीले जापानी प्रहरीसँग समन्वय गरिरहेको प्रहरी स्रोतको भनाइ छ।


