सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ। उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।
जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२/१२ उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए।
उनका अनुसार उक्त सङ्ख्यामा पर्यटक भित्रिँदा तीन सय ३६ जना विदेशी र एक सय २६ जना नेपाली गरी कूल चार सय ६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन्।
‘सगरमाथा क्षेत्र आउने पर्यटक अहिले पनि उत्साहजनक नै मान्नुपर्छ तर चिसो मौसम सुरु भएकाले फर्किनेक्रम पनि त्यतिकै रहेको छ’, सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने।
चिसो सुरु भएसँगै खुम्बुबाट बाहिरिने पर्यटक बढ्दै गएको छ। मङ्सिर मध्यसम्म मात्रै पर्यटक याम चल्ने भएकाले भित्रिनेसँगै बाहिरिनेको सङ्ख्या पनि उत्तिकै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ। रासस


