उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीलाई सुदृढ बनाउन गुटबन्दी न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।शनिबार जिल्ला कार्यसमिति मोरङले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको लागि मूल चुनौती रहेको बताए । यसरी अब पार्टी नचल्ने भन्दै कांग्रेसलाई बलियो बनाउन पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्नेमा उनको जोड थियो ।
‘पार्टी व्यवस्थापन नै कांग्रेसको चुनौती हो । ग्रुपिजम न्यूनिकरण गर्दै जानुपर्छ,’ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने । पार्टीमा आफूले सँधै वरिष्ठतालाई मानेको भन्दै उनले १४ओै महाधिवेशनमा वरिष्ठताकै आधारमा आफूले सभापति दाबी गर्दा पूर्वमान्यताबाट केही नेता विचलित भएको बताए ।
आफ्नो अनुकूल हुँदा वरिष्ठता भन्ने र प्रतिकूल हुँदा वरिष्ठता केही होइन भन्ने प्रवृत्ति १४ओै महाधिवेशनमा देखिएको भन्दै उनले आफ्नो स्वभाव वरिष्ठतालाई सम्मान गर्ने र पार्टीमा सबैसँग मिलेर काम गर्ने रहेको प्रष्ट पारे । आउँदो महाधिवेशनमा के गर्ने भन्दा पनि पार्टी संगठनलाई कसरी बलियो बनाउनेतर्फ आफ्नो ध्यान रहेको सिंहको भनाई थियो ।
उपप्रधानमन्त्री सिंहले सात बुँदे सहमतिको जगमा वर्तमान सरकार बनेको भन्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिकै लागि सरकारले काम गरिरहेको बताए । कार्यक्रममा मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, केन्द्रीय सदस्य डिला संग्रौलालगायतका नेता, कार्यकर्ता सहभागी थिए ।


