काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेसँग मात्र दूरदर्शी नेतृत्व रहेको जिकिर गरेका छन्। शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन्।
ओलीकै नेतृत्वमा मुलुकको समस्या समाधान गर्ने बताएका उनले ओली सरकारलाई असफल बनाउने उद्देश्यले भ्रमको शृंखला अघि बढाउने काम पनि भइरहेको उनले जिकिर गरे।
‘देश बनाउने पार्टी एमाले हो। नेपालको विकास ओली नेतृत्वको सरकारले नै गर्छ,’ उनले भने। उनले एमालेलाई समाप्त पार्न प्रपञ्च भइरहेको पनि बताए। उनले देश श्रीलंका र बंगलादेशजस्तो बन्ने अवस्थामा नभएको दाबी गरे।
‘सुनिन्छ, नेपाललाई श्रीलंका बनाइदिने, बंगलादेश बनाइदिने भन्न थालिएको छ। नेपालको परिस्थिति न श्रीलंकाको हो न बंगलादेशको,’ उनले भने।
उनले देश बनाउन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व चाहिने बताए । राजनीतिक अस्थिरताका कारण मुलुक नबनेको भनाइ उनको छ।
‘अहिलेसम्म राजनीतिक स्थायित्वको आधार बनाउन सकेका छैनौँ । एमालेले संकल्प गरेको छ, अब मुलुकलाई निर्णायक राष्टिय शक्तिको खाँचो छ,’ उनले भने।


