काठमाडौँ- तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा २०७८ मंसिर २६ गते दुर्गा प्रसाई एमाले केन्द्रीय कमिटी सदस्य मनोनित भएका थिए।
चितनवको भरतपुर महाधिवेशनमा केन्द्रीय सदस्यमा नअटाएका प्रसाईंलाई ओलीले भक्तपुरमा केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गराएर केन्द्रीय सदस्य बनाएका थिए। त्यसबेला अध्यक्ष ओलीले मनोनित हुनेहरूको सूची पढेर सुनाएका हुन्।
ओलीलाई सार्वजनिक रूपमा नै हजुरबा सम्बोधन गर्ने प्रसाईँ लामो समय भने एमालेमा टिक्न सकेनन्।
०७९ को प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि प्रसाईँ ओली र एमालेका विरुद्धमा लाग्न थाले। झापा-३ बाट निर्वाचन लड्न चाहेका प्रसाईँलाई टिकट नदिएर कांग्रेसले राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने निर्णय गरेको थियो।
ओलीले झापा-५ बाट चुनाव लडेका थिए। यो क्षेत्रमा दमक नगरपालिका लगायतका क्षेत्र पर्छन्। उक्त क्षेत्रका पालिकामध्ये सबैभन्दा बढी जनसंख्या यही नगरपालिकामा छ। प्रतिनिधि सभा निर्वाचन हुनुभन्दा केही समय अघि मात्र भएको स्थानीय तहको निर्वाचनमा त्यहाँ राप्रपाका रामकुमार थापा विजयी भएका थिए।
दमकमा राप्रपाको पकड क्षेत्र भएकाले आफूले चुनाव जित्नका लागि ओलीलाई राप्रपाको मत आवश्यक थियो। राप्रपा मत तान्नका लागि ओलीले झापा-३ मा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने निर्णय गराएका थिए। लिङ्देनलाई समर्थन गर्नुपर्दा प्रसाईंले टिकट पाउने सम्भावना टरेको थियो।
टिकट नपाएपछि एमाले र ओलीसँग दूरी बढाएका प्रसाईलाई एमालेले फागुन १३ गते पार्टीबाट निष्काशन गरिदियो। पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको आरोपमा उनी निष्काशनमा परेका थिए। पूर्वराजा ज्ञानेन्द्र शाहलाई अतिथि बनाएर झापामा राजनीतिक कार्यक्रम गरेपछि एमाले प्रसाइँसँग चिढिएको थियो।
त्यसअघि नै प्रसाईँले एमाले छाडेको घोषणा भने गरेका थिए।
प्रसाई यतिबेला ओलीमाथि विभिन्न आरोपहरू लगाउँदै भाषण गर्छन्। कम्बोडियाको टेलिकममा ३२ अर्ब भन्दा बढी नेपाली रुपैयाँ ओलीले लगानी गरेको आरोप लगाउँदै गलत विवरण सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रसाईँ पक्राउ परेका छन्। उनीमाथि साइबर अपराधमा मुद्दा दर्ता गराउने तयारी सरकारी पक्षको छ। यसबाहेकका मुद्दा पनि आकर्षित हुन सक्ने प्रहरीको भनाइ छ।
उनै प्रसाईमाथि ओली यतिबेला कठोर सुनिन थालेका छन्। कुनै बेला सिधै एमाले केन्द्रीय सदस्य बनाउने ओली शुक्रबारको एमाले सभामा कठोर सुनिए। कानुन विपरीतका काम र अपराध गर्नेलाई सरकारले नछाड्ने सार्वजनिक भाषण गरे।

दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको जिकिर गरेका थिए।
आफूविरुद्ध अनेक हल्ला चलाइएको उनको भनाइ थियो। यसमा उनले प्रसाईँलाई नै संकेत गरेका थिए। एमाले भ्रमको पछि नदौड्ने उल्लेख गर्दै अध्यक्ष ओलीले कागले कान लग्यो भन्दैमा आकाशतर्फ हेरेर कागका पछिपछि दौडन आवश्यक नरहेको बताए।
‘बैंकको ऋण तिर्नुपर्दैन भन्नेहरुले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने प्रयत्न गरिरहेका छन्,’ उनको भनाइ थियो।
ओली प्रसाईँमाथि मात्र खनिएनन्। राष्ट्रिय स्वतन्त्र पार्टी र उक्त पार्टीका सभापति रवि लामिछानेमाथि पनि खनिएका थिए। जसरी ओलीले प्रसाईँलाई काँध चढाएका थिए, उसैगरी ओलीले रविलाई पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउन जोडबल गरेका थिए।
२०७९ पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा ओलीले रविलाई गृहमन्त्री बनाउने भूमिका निर्वाह गरेका थिए। पछि २०८० फागुन २३ गते पनि रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए। त्यसबेला पनि ओलीकै जोडबलमा रवि गृहको बागडोरमा पुगेका थिए।
रवि गृहमन्त्री बनेसँगै कांग्रेसले भने सदनमा अवरोध सुरु गरेको थियो। रवि सहकारी ठगीमा संलग्न भएको भन्दै उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने उसको माग थियो। तर रविमाथि छानबिन गर्न नहुने भन्दै सदनमा एमालेले बलियो प्रतिरक्षा गरेको थियो। तर पछि संसदीय समिति बन्यो। रविमाथि कारबाही सिफारिस भयो। रविमाथि कारबाही सिफारिस हुँदा ओली प्रधानमन्त्री बनिसकेका थिए।
रविमाथि कारबाही सिफारिस भएको विषयलाई रास्वपाले अतिरञ्जित गरी क्लिनचिट पाएको दाबी गर्न थाल्यो। तर एमाले नेतासमेत रहेका छानबिन समितिका सभापति सूर्य थापाले उनीमाथि कारबाही भएको विषयलाई तोडमरोड नगर्न आग्रह गरे। त्यसपछि उनलाई पक्राउ गर्ने सुइँको पाएपछि रास्वपा ओलीविरुद्ध खनिन थाल्यो। यसको तुष ओलीलाई पर्यो।
दुईदुई पटकसम्म उपप्रधानमन्त्री र रवि पक्षको वकालती गर्दै संसदीय समिति बन्न नहुने अडानमा रहेका (त्यसबेला) ओली लामिछानेविरुद्ध पनि शुक्रबार खुलेरै प्रकट भए।
‘आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन्। यस्ता कुनै पनि प्रकारका ठगी सैह्य हुँदैन। नेपाली जनता आफ्नो संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को सङ्कल्पलाई पूूरा गर्न अघि बढ्नेछन्। नेपाली जनता भ्रममा पर्दैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरुले सार्वभौम जनताको भविष्यलाई सङ्कटमा पार्ने प्रयास गरिरहेका छन्। यसमा हामी सचेत रहनुुपर्छ। हाम्रा लागि देश र जनता प्रमुख कुरा हुन्। त्यसमा हामी दृढ तथा एकताबद्ध भएर लाग्नुपर्छ।’

कात्तिक २ गते काठमाडौँस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका रवि यतिबेला कास्की प्रहरीको हिरासतमा छन्। सहकारी ठगीको आरोपमा उनीविरुद्ध रुपन्देही, काठमाडौँ र चितवनका जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका छन्। कास्कीबाटै रुपन्देही पुर्याएर फेरि कास्की फिर्ता गराइएका रविले अब काठमाडौँ र चितवनमा प्रहरी हिरासतको यात्रा गर्नुपर्ने देखिएको छ। उनीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध, सम्पत्ति शुद्धीकरण, कीर्ते तथा जालसाझी र हुन्डी कारोबारको कसुर पनि आकर्षित हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरीले बताइरहेको छ।
प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अर्बौँ रुपैयाँका मालिक बनेकाहरूले आफ्नाविरुद्ध आरोप लगाउँदै हिँडेका स्पष्ट पार्दै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिए। यसले प्रचण्डलाई संकेत गर्न खोजेको देखिन्छ।
अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरत्साहित गर्न लाग्ने बताएका थिए।
उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर बिजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गरे। यो आरोप भने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि थियो।


