काठमाडौँ- सिरिजङ्घा स्पोर्टिङ क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा सुरु भएको १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा आज आइतबार भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सिरिजङ्घा मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो।
खेल निर्धारित समयमा गोल रहित बराबरीमा सकिएपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो। टाईब्रेकरमा मोरङले बाजी मार्यो।
सिरिजङ्घा मोरङको जितमा आशिस लावती, साउरे राउत, धिरेन क्षेत्री, र रोशन धिमालले गोल गर्दा सुजन रसाइलीको प्रहार माङसेबुङका गोलरक्षकले बचाएका थिए। यस्तै माङसेबुङका बिशाल दर्जी, प्रविण राई र
महेन्द्र लिम्बूले गोल गर्दा रचिन माझीको प्रहार बाहिरियो भने, मिलन राईको प्रहार मोरङका गोलरक्षक प्रमिजर गच्छदारले रोकेका थिए।
खेलको मेन अफ दी म्याच सिरिजङ्घा मोरङका गोलरक्षक प्रमिजर गच्छदार घोषित भए। उनले नगद पुरस्कार प्राप्त गरे।
यसैगरी भोलि सोमबार आयोजक र दमक भाङबारी स्पोर्टिङ क्लब झापाविच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए।
अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी हुनेछ।
आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, चुलाचुली स्र्पोटिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट एम.एफ.सि. दार्जिलिङ पाहुना टोलीको रुपमा सहभागी रहेको छ।


