काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग काठमाडौँमा बयान सुरु भएको छ।
सहकारी ठगी तथा संगठिक अपराध मुद्दामा जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ काठमाडौँ ल्याएपछि शुक्रबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी रहेको कार्यालयले जानकारी दिएको हो।
लामिछानेमाथि काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको आरोप छ। गोर्खा मिडिया नेटवर्कमा उक्त सहकारीको रकम लगेको संसदीय छानबिन समितिको निष्कर्ष छ। तर रविले भने सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गर्दै आएका छन्। उनले सहकारीबाट गोर्खा मिडियाले रकम लिएको विषयमा पनि ‘थाहा छैन’ भन्दै आएका थिए।
तर उक्त ऋणको ब्याजका लागि लामिछाने आफैँले चेक काटेर दिएको र उक्त चेकबाट रकम पनि भुक्तानी भइसकेको प्रमाण रुपन्देही प्रहरीले भेट्टाएको अवस्थामा रविको दाबी आफैँ खण्डित भएको प्रहरीको निष्कर्ष छ। सहकारी ठगीको छानबिन गर्न गठन भएको संसदीय समितिका सभापति सूर्य थापाले पनि अब रविको दाबी खण्डित भएको बताएका छन्।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे पूर्वडीआईजीसमेत रहेका छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ। कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँ ल्याएर यसअघि नै बयान लिइएको छ। रम्तेल स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष पनि हुन्।
स्वर्णलक्ष्मी सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए।
जीबी राई अध्यक्ष रहेको उक्त सहकारीमा रास्वपा सभापति रविलामिछानेसहितले रकम अपचलन गरेको आरोप लागेको छ। यो समूहविरद्ध कास्की, रुपन्देही र चितवनमा पनि सहकारी ठगीकै आरोपमा अनुसन्धान भइरहेको छ। यद्यपि सहकारीहरू र गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने फरार छन्। उनी मलेसियामा लुकेर बसेको आशंका गरिएको छ।
