काठमाडौं– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रमियर लिग (एनपीएल) सुरु हुने दिन नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।
प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको हो।
प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने छ।
ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो।
ती स्थानमा लाइन काटिँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने दिनमा नै प्राधिकरणले बिजुली काट्ने भएपछि उपभोक्ताले असन्तुष्टि पोखेका छन्। एक त एनपीएलका सबै टिकट सोल्डआउट भएको र अर्कोतर्फ लाइभ हेर्नेहरूका लागि बिजुली पनि काटिदिँदा समर्थकलाई असहज भएको छ।
एनपीएल आजदेखि टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्। एनपीएल खेल्न भारतीय क्रिकेटर शिखर धवनदेखि न्यूजिल्यान्डका मार्टिन गप्टिलसम्म नेपाल आएका छन्।
एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन्।
एनपिएलको अक्सनमार्फत १० खेलाडी भित्राएका प्रत्येक टोलीले ४-६ विदेशी खेलाडी अनुबन्ध गरेका छन्। एक जना मार्की प्लेयर र एक आइकोनिक खेलाडीको रुपमा एनपिएल खेल्नेछन्।
समूह चरणमा प्रत्येक टोलीले ७ खेल खेल्नेछन्। शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्। दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोली र एलिमिनेटरबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल पुस ६ गते हुनेछ।
आज हुने उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन्। उक्त खेल दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ। विराटनगरको कप्तानमा सन्दीप लामिछाने र जनकपुरको कप्तानमा अनिलकुमार शाह छन्।
खेलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा स्टार स्पोर्ट्स र युट्युबमा एक्सन स्पोर्ट्सबाट हुनेछ।


