काठमाडौं– शनिबारदेखि काठमाडौंको किर्तिपुर क्रिकेट मैदानमा सुरु भएको घरेलु क्रिकेट महोत्सवको उद्घाटन खेल त्यति सनसनीपूर्ण नभए पनि दर्शकको साथ भने गजबको थियो। नेपाली क्रिकेटको फेस्टिबल नेपाल प्रिमियर लिग (एनपिएल) मा भएको पहिलो खेलमा लेग स्पिनर किङ सन्दीपको कप्तानीमा भएको विराटनगर पहिलो खेलमा नै कमजोर बन्न पुग्यो।
प्रतियोगिताअघि न्यूजिल्यान्डका स्टार खेलाडी मार्टिन गप्टिल अनुबन्ध हुँदा धेरै चर्चा पाएको विराटनगर ब्याटिङमा कमजोर बन्न पुग्यो। उसो त आजको खेलमा विराटनगरको बलिङ पनि चल्न सकेन। त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गर्न असहज भएको बताउने गुप्टिलले नै टिमको रन स्कोर सहज बनाइ दिएका थिए।
सुरुवाती ब्याटिङमा आएको विराटनगरले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२७ रन बनायो। पहिलो खेलमा नै यो किसिमको ब्याटिङले खेल हेर्न आएका दर्शकहरु पनि निराश भए। नेपाली टोलीमा ओपनरको राम्रो चिनारी बनाएका लोकेश बम पनि छैटौ बलमा खराब सट खेल्न पुग्दा पहिलो विकेटका रुपमा ललित नारायण राजवंशीको स्पिनमा बोल्ड आउट हुन पुगे।
त्यसपछि ओमानका आकिव लियासले १५ रन बनाउन बाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। जुन विराटनगरका लागि असहज बन्न पुग्यो। पहिलो खेलमा विराटनगरका गुप्टिलबाहेक अन्य खेलाडी जम्न सकेनन्। आजको खेलमा विराटनगरले आफ्ना चारै विदेशी खेलाडी मैदानमा उतारेको थियो।
निकोलस क्रिटोनले ९ रन बनाए भने बसिर अहमदले मात्र ७ रन बनाए। उसो त विराटनगरको कमजोर ब्याटिङलाई मान्नुभन्दा जनकपुरको बलिङ लाइनलाई बलियो मान्ने कुरामा कुनै दुई मत छैन। एनपीलएको अक्सनमा ६ टोलीले बोली लगाएका ललितले तीन विकेट लिँदा किशोर महतोले दुई र हर्ष ठाकुरले दुई विकेट लिए।
मात्र १ सय २८ रनको टार्गेट दिएको विराटनगरले बलिङमा पनि सोचेअनुरुप प्रदर्शन गर्न सकेन। विराटनगर जनकपुरको ब्याटिङ लाइनअप सामू निरिह बन्यो। नेपाली टोलीका ओपनरलाई विराटनगरको बलिङ टोलीले धरासायी बनाउँदा विदेशी खेलाडीसँग भने कमजोर भए। जनकपुरका मार्की खेलाडी आसिफ शेख गोल्डेन डक आउट भए।
कप्तान अनिल साह कमजोर बन्न पुगे। उनले जम्मा ५ रन बनाए। त्यसपछि जनकपुरका लाहिरु मालन्थाले ७५ रनको अर्धशतकीय पारी खेल्दा हर्ष ठाकरले २९ रन बनाए।
कमजोर ब्याटिङ
विराटनगर पहिलो खेलमा नै आफ्नो कजोर ब्याटिङका निम्ति हारको शिकार हुन पुग्यो। आशा गरेका विदेशी खेलाडीले पनि ब्याटिङमा जादु नदेखाउँदा आजको खेलमा आशा मान्न सकिएन। उसो त सन्दीप लामिछानेले प्रिम्याचमा विदेशी खेलाडीको ब्याटिङमा धेरै आशा गरेको बताए। तर, गप्टिलले पनि सोचे अनुसार खेल्न सकेनन्। उनले धरै बल खान पुगे। तर, उनी लामो समय टिक्दा केही सहज भयो।
तर विराटनगरले फिल्डिङमा जुन कसिलो हुनुपर्ने थियो। त्यो हुन सकेन। कमजोर फिल्डिङ र लापरबाहीले गर्दा सानो टार्गेटमै विराटनगरले २२ रन एक्स्ट्रा दिन पुग्यो। सोही कारण पनि १६ औं ओभरमै जनकपुरले मात्र दुई विकेटको क्षतिमा लक्ष्य भट्टाउँदै पहिलो शानदार विजयी यात्रा सुरु गर्यो।


