काठमाडौँ- नेपाल चिकित्सक सङ्घ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बढाएको शुल्क लागू भएको छ। सोमबारदेखि बढेको शुल्क लागू भएको संघले बताएको छ।
सङ्घका महासचिव डा सञ्जीव तिवारीले सोमबारदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको बताए।
सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरवलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी) शुल्क बढाइएको हो। सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको बताए।
महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रु ४२० देखि ९४० रुपैयाँसम्म बनाइएको जानकारी दिए। नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमबीबीए तथा बीडीएस तहका चिकित्सकको शुल्क ४२० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको ५१५ तोकिएको छ।
यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू ५९० र त्योभन्दा बढी भए ६७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकले ७५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले रू ८ सय परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ ।
यस्तै पाँच वर्षसम्मको अनुभव भएका डीएम/एमसीएच तहका चिकित्सकको रू ८८० तथा ५ वर्षभन्दा माथि अनुभव भएका एमडी/एमसीएच तहका चिकित्सकको रू ९४० निर्धारण गरिएको छ।


