काठमाडौँ– चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा ८ विषयमा सहयोगसम्बन्धी सहमति भएको छ।
मंगलबार दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि ८ विषयमा सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बेइजिङमा भएको भेटपछि उक्त हस्ताक्षर भएको हो।
‘नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ,’ प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ।
यसअघि ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो।
समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए। प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए। चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए।
प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका छ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो।
भ्रमण दलमा ओलीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संघीय सांसद्हरु, मुख्यसचिवसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीलगायत छन्।


