काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार लु भारत, श्रीलङ्का र नेपालको भ्रमणमा आउन लागेका हुन्।
डिसेम्बर ३ बाट सुरु हुने उनको भ्रमण डिसेम्बर १० मा समापन हुनेछ। भारतबाट डिसेम्बर ५ मा कोलोम्बो जाने लु त्यसपछि काठमाडौँ अवतरण गर्नेछन्।
मन्त्री लुले नेपालमा दुई देशको सहयोग, वातावरण, महिला र दिगो विकासका मुद्दामा छलफल गर्नेछन्।
नेपाली प्रधानमन्त्री चीनमा रहेकै बेला अमेरिकाले मन्त्री लुको भ्रमण सार्वजनिक गरेको हो।
ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा मंगलबारै ८ विषयमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ।
यसअघि नेपालले बीआरआई परियोजनाअन्तर्गत ऋण नलिने विषय सार्वजनिक गरिसकेको छ।
अमेरिकी सहयोग एमसीसीको अनुदान लिने या नलिने भन्ने विषयमा नेपालमा बहस चर्किरहेका बेला पनि लु नेपाल आएका थिए।
पछि नेपालको संसदले एमसीसी सम्झौतालाई अनुमोदन गरेपछि कार्यान्वयनमा आइसकेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको सत्ताको अन्तिम समयमा लुको दक्षिण एसिया भ्रमण हुने भएको हो।
आगामी जनवरी २० पछि बाइडेनको बहिर्गमन र ट्रम्पको आगमन हुँदैछ।


