काठमाडौँ- गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
गृहमन्त्री रमेश लेखकको पीए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पीए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
नक्कली पीए भन्दै ठगी गर्दै हिँडेका विष्टलाई धुम्बाराहीबाट पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको एसएसपी भट्टराईले बताए।
नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा उनलाई पक्राउ गरिएको हो।
गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पीए/सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरूबाट सर्तक रहन आग्रह गरेको छ।
