काठमाडौँ- नेपाल पत्रकार महासंघको आगामी निर्वाचनका लागि सत्ताधारी दुई दलबीच भागबन्डा मिलेको छ।
महासंघको निर्वाचनका लागि कांग्रेस निकट नेपाल प्रेस युनियन र एमालेको भातृसंस्था प्रेस चौतारी नेपालका अगुवाहरूबीच भएको छलफलले भागबन्डा टुंगो लगाएको हो।
महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीले अध्यक्षसहित ५ पदमा उम्मेदवारी दिने भएको छ। यस्तै युनियनले ८ पदमा उम्मेदवारी दिन पाउने छ।
चौतारीले केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजकसहित २२ सदस्य पाएको छ। बाँकी पदमा युनियनले उम्मेदवारी दिने सहमति छ।
प्रदेशमा कोसी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिने गरी सहमति भएको दुवै पक्षका नेताहरूको भनाइ छ।
महाधिवेशनका लागि शुक्रवार नै उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ।


