काठमाडौँ- स्वयम्भूनाथ र बौद्ध पुगेर फर्किए भूटानी राजा भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले जन्मभूमि नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्।
अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका राजा वाङचुकले नेपालमा रहँदा कुनै राजनीतिक भेटघाट नगरी स्वदेश फर्किएका हुन्।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राजा वाङचुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेकी थिइन्।
शुक्रबार बिहान राजा वाङचुक काठमाडौँस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। भारत भ्रमण सकेपछि नेपाललाई ट्रान्जिट पारेर राजा वाङचुक नेपाल आएका हुन्।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नै राजा वाङचुकलाई विमानस्थलमा स्वागत पनि गरेकी थिइन्।
वाङचुकले नेपाल बसाइका क्रममा बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गरेका छन्।
१९ सदस्यीय भ्रमण दलमा राजासहित भूटानका ऊर्जामन्त्री, विदेशसचिव, सुरक्षा अधिकारीलगायत सदस्य रहेका छन्।
भुटानका राजा नेपाल आएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको थियो।
काठमाडौँमा रहँदा राजा वाङचुकले स्वयम्भूनाथ पुगेर पूजाअर्चनासहित दर्शन गरेका थिए।
उनलाई स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वागत गरेका थिए।
स्वयंभूबाट उनले काठमाडौँ उपत्यकाको अवलोकन पनि गरेका थिए।
राजा वाङचुकले बौद्धनाथ स्तुपामा पनि परिक्रमा गरेका थिए। झन्डै एक घण्टा बौद्धनाथमा बिताएका उनले पूजाआजा पनि गरे।
४४ वर्षीय राजा वाङचुकको जन्म नेपालमा नै भएको थियो। सन् १९८० फेब्रुअरी २१ मा काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा उनको जन्म भएको हो।
