काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गर्दै संघ सरकारलाई पत्र पठाएका छन्।
आइतबार उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत शीघ्र पठाइदिन माग गरेका छन्।
पत्रको शैली झर्रो छ। पत्रमा बोलीचालीका शब्द/वाक्य छन्।
पत्रमार साम्पाङले लेखेका छन्, ‘धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइदिने होला? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो। लौ न तुरुन्त पठाइदिनुपर्यो।’
धराने जनता पनि नेपाली नागरिक नै भएकोसमेत उनले स्मरण गराएका छन्। जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरुन्तै पठाइदिन उनको अनुरोध छ।
धरानमा प्रमुख प्रशासकीय अधिकृत केही दिनदेखि खाली छ।
गत असारबाट प्रशासकीय अधिकृतका रुपमा भुपेन्द्र राई काजमा आएका थिए।
उनी करिब दुई साता अगाडि फिर्ता भएका छन्।

