काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइएको छ।
पोखरामा रहेका उनलाई पर्सा लैजानका लागि काठमाडौँ ल्याइएको हो। पोखराबाट सिमरातर्फको उडान नभएकाले उनलाई सिमरा हुँदै पर्सा पुर्याउनका लागि काठमाडौँ ल्याइएको हो।
काठमाडौँ विमानस्थलबाट उनलाई आजै पर्सा पठाउन लागिएको छ।
दिउँसो साढे २ बजे उनलाई सिमरा पठाउने तयारी छ।
सिमराबाट स्थलमार्ग हुँदै पर्सा पठाइनेछ।
सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।
गोर्खामा हुँदा रविका साझेदार छविलाल जोशीलाई कास्कीबाट पर्सा लगिएको छ। यस्तै रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ।
पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो।
छवि-रामलाई सोमबार बिहान पर्सा पुर्याइएको हो। जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरूको बयान लिइने छ।
आइतबार मात्रै कास्की जिल्ला अदालतले रवि-छविलाई थप ४ दिन प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
कात्तिक २ गते रवि काठमाडौँबाट पक्राउ परेका हुन्। यसअघि असोज ६ गते छवि काठमाडौँबाटै पक्राउ परेका थिए। राम चाहिँ कात्तिक ९ गते काठमाडौँको पानीपोखरीबाट पक्राउ परेका हुन्।
काठमाडौँमा स्वर्णलक्ष्मी, चितवनको साहरा, रुपन्देहीको सुप्रिम र कास्कीको सूर्यदर्शन सहकारीबाट पनि रवि र छविले गोर्खा मिडियाका अध्यक्ष जीबी राईसँग मिलेर रकम ठगी गरेको आरोप छ। जीबी भनेर फरार छन्।
