सरकार र दलको नेतृत्वप्रति आलोचक मुखरित हुँदै गएका कांग्रेस नेता शेखर कोइरालालाई नेपाली कांग्रेसका नेताहरूले केही असन्तुष्टि भए पार्टीभित्रै मत राख्न सुझाव दिएका छन्।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको बैठकमा कोइरालाले केही विषयमा असन्तुष्टि जनाउँदा पार्टीका निकायभित्र नभई सार्वजनिक रूपमा व्यक्त गर्ने गरेको विषयमा चर्चा भएको थियो।
हालै कोशी प्रदेशको प्रथम सम्मेलनमा कोइराला सहभागी थिएनन्। उनी चितवनमा आयोजित शोकसभामा गएका थिए।
‘पार्टी पङ्तिका बीचमा हामी एकताबद्ध भएर जानुपर्छ, कुनै मनमुटाव वा असन्तुष्टि कुनै नेताको छ भने पार्टीकै निकायमा छलफल गर्नुपर्छ, कांग्रेसभित्र ठूलो मतभिन्नता रहेछ भन्ने किसिमले बाहिर प्रस्तु हुनु हुँदैन भन्ने कुरा नै बैठकमा अभिव्यक्त गर्ने साथीहरूले राख्नुभएको छ,’ कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने।
उनले सन्तुष्टि वा असन्तुष्टिका विषय पार्टीभित्रै छलफल गरिनुपर्नेमा जोड दिए। आन्तरिक विषयलाई बाहिर छलफल गर्ने विषय बनाउन नहुने प्रवक्ता महतले बताए।
‘पार्टी एक भएर जानुपर्छ, जुनसुकै विषयवस्तु पार्टीकै सम्बन्धित मन्चमा छलफल गर्नुपर्छ, संस्थागत तरिकाबाट नै पार्टीभित्र आफ्ना मत राख्नुपर्छ,’ प्रवक्ता महतले भने।
