काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रातारात पोखरा लगेको विषयमा नेपाल प्रहरीका दुई उच्च अधिकारीले राष्ट्रिय मानव अधिकार आयोगलाई बयान दिएका छन्। आयोगले दुई उच्चपदस्थ प्रहरी अधिकारीलाई बोलाएर बयान लिएको हो।
सोमबार एआईजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीले आयोग कार्यालयमा पुगेर बयान दिएका हुन्।
आयोगले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई नै बयानमा बोलाएको थियो। तर, कुँवरले आफू उपत्यकाबाहिर भएको भनेर एआईजीलाई पठाएका थिए।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले रास्वपा सभापति रवि लामिछानेकै विषयमा छलफल गर्न बोलाइएको बताए।
‘बाहिर उठेका विषयहरुबारे हामीले सोध्यौँ। उहाँहरुले आफ्नो भनाइ राखेर जानुभएको छ। हामी अहिल्यै निष्कर्षमा पुगिसकेका छैनौँ। अनुसन्धानलाई निरन्तरता दिन्छौँ,’ पोखरेलले भने।
दुवै प्रहरी अधिकारीले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बताए।
डा. पोखरेलले आवश्यकता महसुस भएमा आईजीपीलाई फेरि बोलाएर बयान लिने जानकारी दिएका छन्।


