काठमाडौँ– सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेको बयान पर्सामा एक दिनमा नै पूरा भएको छ।
पर्साको सानो पाइला सहकारीको रकम ठगीको आरोप लागेका लामिछानेको बयान सकिएर फेरि कास्की पठाउने तयारी गरिएको छ।
कास्कीको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कात्तिक २ गते (५३ दिनअघि) काठमाडौँबाट लामिछाने पक्राउ परेका थिए।
पर्सामा लामिछानेले ५४ प्रश्नको सामना गरेका थिए। सानो पाइला सहकारी ठगीको मुद्दा अदालतमा दर्ता भएर विचाराधीन छ। लामिछाने आफू गृहमन्त्री भएका बेला आफूविरुद्ध सबै आरोपलाई किनारा लगाउँदै अनुसन्धान प्रभावित पारेको आरोप थियो। तसर्थ त्यसबेला उनी मुद्दाको दायरामा समेटिएका थिएनन्।
सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा लगेको अनुसन्धानबाट भेटिएपछि काठमाडौँको गोर्खा मिडिया नेटवर्कमा लग्ने काममा संलग्न भएको आरोपमा रविसँगै उनका साझेदार छविलाल जोशी पनि अनुसन्धानकै क्रममा छन्।
रवि र छवि विरुद्ध कास्की, काठमाडौँ, चितवन र रुपन्देहीका सहकारीको रकम पनि ठगी गरेको आरोप छ। यी सहकारी र गोर्खा मिडियाका अध्यक्षसमेत रहेका जीबी राई भने हालसम्म फरार छन्।
पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएको छ। सहकारीलाई कुनै पनि निजी कम्पनीलाई रकम प्रवाह गर्ने व्यवस्था छैन।
सहकारी ठगी, कीर्ते, सम्पत्ति शुद्धीकरण र संगठित ठगीलगायतका कसुरमा आधारित भएर प्रहरीले अनुसन्धान गरिरहेको छ। उक्त अनुसन्धानको प्रतिवेदन लेखनको कामलाई पनि प्रहरीले तीव्रता दिएको छ।
सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ। लामिछाने जोडिएको प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको जानकारी दिएको छ।
विभिन्न जिल्लाका प्रहरीहरूलाई अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) खटिएको छ।
कास्की प्रहरीले साताभित्रै अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा छ। अन्य स्थानमा पनि क्रमश: मुद्दाको फाइल सरकारी वकिलको कार्यालयलाई पठाउने तयारी गरिएको छ।
सहकारीबाट रकम लिएको विषय आफूलाई जानकारी नभएको जिकिर रविको रहँदै आएको थियो। तर अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋणको ब्याज भुक्तानी गर्नका लागि काटेका चेक बरामद भएका छन्। योसँगै उनले ‘थाहा छैन’ भन्दै आएको कुरा पनि गलत भएको पाइएको छ। प्रहरीले यसलाई सहकारी ठगीको प्रमाणका रूपमा पेस गर्दैछ। यसअघि रविमाथि छानबिन गर्नका लागि बनेको संसदीय समितिले रविले सहकारी ठगी गरेको प्रमाण निकाल्न सकेको थिएन।
स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जीबीले गाडी खरिद गर्न ९२ लाख रुपैयाँ ऋण लिएको समेत प्रहरीले भेट्टाएको छ।


