सिमकोट: हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित ‘हिमालपारि’ भनेर परिचित लिमीको जाङ गाउँ बसाइँसराइले रित्तिएको छ । एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो ।
यस गाउँका स्थानीय भौतिक सुविधाको खोजीमा काठमाडौं, सुर्खेत, नेपालगन्जलगायत सहरमा बसाइँसराइ गरेपछि गाउँ रित्तिएको हो ।
दुई वर्षयता गाउँपालिकाले यहाँका बिरामीको उपचारका लागि बाह्रै महिना लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी खटाएको थियो । हल्जी र तील गाउँका लागि स्वास्थ्य सेवा बाह्रै महिना उपलब्ध गराएको लिमी स्वास्थ्य चौकीका अहेब लोग बोहराले बताए । जाङ गाउँको भृकुटी आधारभूत विद्यालय विद्यार्थी नभएका कारण बन्द भइसकेको छ ।
बसाइँसराइ गरी गाउँ छाड्ने जाङ गाउँमा मात्रै नभएर तील र हल्जीमा पनि बढेको हल्जी गाउँका स्थानीय छिरिङ तुण्डुप लामाले बताए । यो वर्ष तील गाउँमा १५ घरधुरीको मात्रै बसोबास छ । हिउँदमा कोही चिसो छल्न जिल्लाबाहिर गएर वर्षायाममा घर फर्किने गर्छन् । तर, विस्तारै हिउँदमा गाउँ छाडेर जानेहरू बर्सात् लागेपछि पनि फर्किन छाडेका छन् ।
यातायात, विद्युत्जस्ता भौतिक सुविधा र गुणस्तरीय स्वास्थ्य, शिक्षालगायत पहुँचको खोजी गर्दै लिमीका केही गाउँ विस्तारै रित्तिन थालेका हुन् । – रासस


