काठमाडौँ- सभामुख देवराज घिमिरेले सभामुख भएपछि पत्रकारलाई हेर्ने आफ्नो धारणा बदलिएको बताएका छन्। सोमबार काठमाडौँमा ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
‘जतिबेला म यो जिम्मेवारीमा आएँ। आएदेखि मैले संसदीय पत्रकारितालाई हेरिराखेको छु। यो हेर्दा पत्रकारका बारेमा आम रुपमा बाहिर जुन रुपमा टिकाटिप्पणीहरू, विश्लेषणहरू अथवा समाचार सम्प्रेषणका तरिकाहरूबाट मेरो जे धारणा बनेको थियो त्यस्तो होइन रहेछ भन्ने मैले महसुस गरेको छु,’ घिमिरेले कार्यक भने।
पत्रकारले धेरै जिम्मेवारीका साथ विषयको विशिष्टिकृत अवस्थालाई समेत ख्याल गरेर समाचार सम्पेष्ण हुने गरेको आफूले महसुस गरेको उनको भनाइ छ।
‘धेरै जिम्मेवारीका साथ, विषयको विशिष्टिकृत अवस्थालाई बुझेर इमानदारिताका साथ, जवाफदेहिताका साथ धेरै मेहनत गरेर समाचार सम्प्रेषण गर्ने गरेको देख्छु,’ उनले भने, ‘यो देख्दा मेरो हिजोको पत्रकारितासम्बन्धी बनेको धारणा भन्दा अलि फरक स्थितिमा मैले आफूलाई पाएको छु।’
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संसदमा रिर्पोटिङ गर्ने पत्रकारलाई पदेन सदस्यको रुपमा स्थान दिएको र त्यसको महत्त्व रहेको पनि उनले स्मरण गरे।
‘संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले पत्रकारहरूलाई उहाँहरू पदेन सांसदहरू हो भन्नुहुन्थ्यो। त्यो म सम्झिरहेको छु। पत्रकारहरूले सांसदले खेलेका भूमिका दिनप्रतिदिन देखिरहनुभएको छ। उहाँहरु निर्वाचित भएर त्यो पदमा नआएता पनि पदेन रुपमा संसदको हितमै भूमिका हुन्छ भन्नुहुन्थ्यो। त्यो मलाई अहिले याद भइरहेको छ,’ सभामुख घिमिरेले भने।
