काठमाडौँ- एसिसी यु-१९ महिला एसिया कपमा पाकिस्तानमाथि शानदार ६ विकेटको जित निकाल्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ।
नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो।
मलेसियामा जारी खेलमा पाकिस्तानको यु-१९ ले दिएको १ सय ५ रनको लक्ष्य नेपालको यु-१९ ले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक रन ४७ (अविजित) जोडिन्। उनले ४७ बलमा ४ चौका प्रहार गरिन्। त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सकेको थियो।
पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन्।
नेपालका लागि कप्तान पूजाले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले १/१ विकेट लिए।
पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो। नेपालले भोलि भारतसँग खेल्ने छ।
