काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन्।
नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औँ केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको तर्क गरे।
‘अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन’, उनले भने, ‘यथार्थ यही हो, नडराई ढुक्कले काम गर्न गर्नुस्।’
पोखरेलले समृद्ध नेपाल सुखी नेपाली कुनै व्यक्ति वा दल विशेषको योजना नभएर यो राष्ट्रको र वर्तमान सरकारले सोही दिशामा काम गरिरहेको दाबी गरे।
अराजकतावादले मुलुकको देशभक्तिपूर्ण भावलाई नै खाइदिने खतरा भएको र देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न हुनु गलत भएको उनले बताए।
पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम समेत भएको उल्लेख गर्दै उनले भने, ‘लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठूला दल प्रति निराशा फैलाउने काम भइरहेको छ।’ एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमालेमाथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरी रहेको उनको भनाइ थियो।
‘आफूलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन एमाले लागेको छ’, उनले भने, ‘यसका लागि हामीले सामथ्र्य बढाउनुपर्छ।’


