पोखरा– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपनि थप ४ दिन हिरासतमा नै राख्न माग गर्दै अदालतमा उपस्थित गराइएको छ।
सरकारकी वकिलको कार्यालय कास्कीलाई प्रतिवेदन बुझाएपनि अदालतमा मुद्दा दायर नगरिएकाले प्रहरीले थप म्याद लिनका लागि अनुमति माग गरेको हो।
कास्की प्रहरीले ४ दिन म्याद थपको माग गरेको छ। लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्। प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणको बचत अपचलनमा रविसहित ५१ जनाको संलग्नता रहेको आरोपमा सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन गरिरहेको छ।
रास्वपा सभापति रवि लामिछानेसहित अहिले ५ जना प्रहरी हिरासतमा छन्। उनीहरूलाई मुद्दा चलाउन सिफारिससहित प्रतिवेदन बुझाइएको छ।
लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिमाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरेको छ।
सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका तथा फरार रहेका १९ व्यक्तिविरुद्ध २०८० असोज १८ मा मुद्दा दर्ता भइसकेको छ। मुद्दा चलाइएकामध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका जीबी राई फरार छन्, सोही कम्पनीका सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि २०८० भदौदेखि कास्की कारागारमा छन्। त्यसबेला राजनीतिक शक्तिका आडमा रविले आफूविरुद्ध जाहेरी दर्ता नगराउन दबाब दिएका थिए।
लामिछानेसहित ३२ जनालाई मुद्दा चलाउन र समग्रमा सहकारीको कुल १ अर्ब ३५ करोड असुल गर्न प्रहरीको राय छ।


