पोखरा- हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसालसहितलाई प्रहरीले कारबाही गर्ने बताएको छ। अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएकाले कारबाही गरिने बताएको हो।
बिहीबार कास्की प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको तस्बिर सार्वजनिक गर्ने कार्यप्रति ध्यानाकर्षण भएको बताएको हो।
‘गोपनीयता कायम गर्नुपर्ने तस्बिर प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने छ,’ विज्ञप्ति मार्फत प्रहरीले भनेको छ, ‘नेपालको संविधान एवं प्रचलित ऐन कानुन बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको ब्यहोरा अनुरोध गर्दछौँ।’

रवि हिरासतमा सुतिरहेको अवस्थाको फोटो डा.निकोलसको फेसबुकबाट सार्वजनिक गरेका थिए। निकोलसले फोटो आफूले खिचेर फेसबुकमा राखेको स्वीकारसमेत गरिसकेका छन्। उनले तस्बिर हटाए पनि सञ्जालमा छ्यापछ्याप्ती छ।
गृहमन्त्री रमेश लेखकले पनि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सामाजिक सञ्जालमा रवि सुतेको अवस्थाको तस्बिर राख्दै षड्यन्त्र भएको आरोप लगाएका थिए। तर अन्ततः उनकै पार्टीका कार्यकर्ताले आफूले तस्बिर सार्वजनिक गरेको स्वीकार गरेका छन्।
‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु’, गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’
त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए।


