काठमाडौँ- नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ। ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो।
अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ।
यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ।
बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल(फ्री नम्बर १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२-१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको बैंकले जनाएको छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन।
टोल-फ्री नम्बर २४ घण्टा, सातै दिन सञ्चालनमा रहने र ग्राहकले टोलफ्री नम्बरको अतिरिक्त बैंकको मोबाइल एप, भाइवर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ।
ग्राहक सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै नबिल बैंकले यो सेवा सुचारु गरेको हो। बैंकले टोल(फ्री नम्बरको एकीकरणले ग्राहक र बैंकबीचको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरेको छ।
बैंकले आफ्ना सम्पूण ग्राहकलाई कुनै पनि सोधपुछ, सहायता वा सेवा आवश्यकताका लागि यो सुविधा प्रयोग गर्न आग्रह गरेको छ।
नबिलले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा ४० वर्षदेखि आधुनिक, डिजिटल र ग्राहककेन्द्रित वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले आफ्नो सेवा सञ्जाल र प्रविधिमा निरन्तर सुधार गर्दै आएको छ।
नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।



