काठमाडौँ– तीन वटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले संक्रमणकालीन न्याय (टीआरसी)मा बिलम्ब नगर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्।
एसिया प्यासिफिक, एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स् वाच इन्टरनेसनल कमिसन अफ जुरिस्टसले प्रधानमन्त्री ओलीलाई पत्र पठाउँदै दबाब बढाएका हुन्।
संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी छनोटलाई अगाडि बढाउन पत्रमा आग्रह गरिएको छ।
‘नेपालमा सत्य, न्याय र परिपूरणलाई अगाडि बढाउन सङ्क्रमणकालीन न्याय आयोगहरूमा स्वतन्त्र, निष्पक्ष र सक्षम व्यक्तिहरूको नियुक्तिका लागि सरोकारवालाहरूसँग व्यापक परामर्श सहित पारदर्शी प्रक्रिया सुनिश्चित गर्नका लागि हामी सम्माननीय प्रधानमन्त्री र सबै सरोकारवालाहरूलाई नयाँ सिफारिस समिति गठन गर्न र उक्त समितिलाई सशक्त बनाउन जोडदार आग्रह गर्दछौं,’ पत्रमा लखिएको छ।
१९ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनमा राजनीतिक दलहरूबीच भएको सहमतिले आशा जगाएको पत्रमा उल्लेख छ।
यही १ पुसमा आयोगहरूका लागि उम्मेदवारहरू सिफारिस गर्नका लागि सिफारिस समितिलाई दिइएको दुई महिनाको समय गुजारेर सिफारिस समिति नै विघटन भएको छ। अब सरकारले पदाधिकारी सिफारिसका लागि फेरि अर्को सिफारिस समिति बनाउनुपर्ने भएको छ।
प्रधानमन्त्री ओलीलाई लेखिएको पत्रको बोधार्थ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोधार्थ दिइएको छ।
