धनगढी- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफूबीच तिक्तता नरहेको बताएका छन्।
सुदूरपश्चिम प्रदेशका नेता–कार्यकर्ताहरूसँग भेटघाट गर्न शुक्रबार कैलालीको धनगढी पुगेका कोइरालाले यस्तो बताएका हुन्।
कोइरालाले कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटी नेतृत्वको टोलीसँगको छलफलका क्रममा देउवासँग आफ्नो कुनै तिक्तता नरहेको बताएका थिए।
‘साथीहरूले शेखर दाइसँग अधिवेशन लगायत कुरा राख्नुभयो। उहाँले शेरबहादुर देउवा मेरो सभापति र नेता हो। मैले उहाँलाई दाइजस्तै मान्छु,’ नेता कोइरालालाई उद्धृत गर्दै जिल्ला सचिव भीम भट्टले भने, ‘मेरो र उहाँबीचमा केही त्यस्तो छैन। उहाँलाई भनेरै सुदूरपश्चिम आएको हुँ।’
नेता–कार्यकर्तासँगको छलफलका क्रममा कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिको स्वाभाविक उम्मेदवार भएको पनि बताए।
१५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएको र आफ्नो दाबी स्वाभाविक भएको पनि उनको भनाइ थियो।
आशन्न १५ औँ महाधिवेशनमा सभापति पदमा फेरि उम्मेदवारी दिने तयारीमा जुटेका नेता कोइराला शुक्रबार सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिम पुगेका छन्।
उनलाई सुदूरपश्चिमका नेता–कार्यकर्ताले धनगढी विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरेका थिए।
