धनगढी – सुदूरपश्चिम भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ।
नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामनास्वरूप हिजो शुक्रबार १५ किलोको माला लगाइएको हो। नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजासहित भव्य स्वागत गरिएको थियो।
कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डेसहित डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो। १५ औं महाधिवेशनका लागि शुभकामना दिँदै कार्यकर्ताले नेता कोइरालाको पक्षमा नारासमेत लगाएको थियो।
स्वागतका लागि धनगढी विमानस्थालमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद’, ‘सुदूरपश्चिमले के भन्छ, १५ औं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ’, जस्ता कोइरालाको पक्षमा चर्को नारा लगाएका थिए।
साथै, स्वागतका लागि थारू संस्कृति झल्कने पहिरन सहित नृत्य गरिएको थियो। स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रर्दशन गरिएको थियो।
पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ। एक स्थानीय कार्यकर्ताले बताएअनुसार यस पटक पार्टी सभापति देउवा आउँदा भन्दा पनि नेता कोइरालाको स्वागतमा बढी सहभागिता रहेको बताए।
सभापति देउवाको कार्यशैलीबाट वाक्कदिक्क भएका सुदूरपश्चिम कांग्रेसी नेता तथा कार्यकर्तामा निकै खुशी छाएको र पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेको नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेश बहादुर मल्लले बताए।


