काठमाडौं– दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले पानीजहाज निर्माण क्षेत्रका लागि रोस्टरमा परेकामध्येबाट १ हजार २ सय माग गरेकामा ७ सयको मात्रै आवेदन परेको नेपालस्थित वैदेशिक रोजगार विभाग (इपिएस) शाखाले जनाएको छ। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माण क्षेत्रमा काम गर्न ७ सय नेपालीको आवेदन परेको हो।
कोरियामा पानीजहाज निर्माण क्षेत्रमा काम गर्न ३ हजार नेपाली श्रमिकको माग गरेकामा १ हजार २ सय यसअघि रोस्टरमा परेकामध्येबाट र १ हजार ८ सय नयाँ माग भएको थियो। तर, कोरिया जान यसअघि नै रोस्ट्रममा परेकाबाट मागभन्दा ५ सय कमको आवेदन परेकाले २ हजार ३ सय नयाँबाट आवेदन माग गरिने इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले बताए।
एचआरडी कोरियाले २०२३ मा जहाज निर्माण क्षेत्रमा काम गर्न ३ हजार कामदार लैजाने योजना बनाएको उनको भनाइ छ। आगामी जुुनमा उक्त क्षेत्रका लागि आवेदन दिएका ७ सय नेपाली श्रमिक लैजाने गरी तयारी भइरहेको जानकारी दिँदै निर्देशक कटुवालले २ हजार ३ सय युवा छनोटका लागि एक÷डेढ महिनापछि नयाँ आवेदन माग हुने बताए।
पानीजहाज निर्माण क्षेत्र जोखिमयुक्त भएकाले कम माग परेको हुन सक्ने उनको अनुमान छ। हालसम्म इपिएसअन्तर्गत कोरियाले नेपालबाट उत्पादन तथा कृषि क्षेत्रमा मात्र नेपालबाट श्रमिक माग गर्दै आएकामा नयाँ क्षेत्र थप भएको हो।


