मुग्लिन – गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने चेपाङ समुदायकी पहिलो महिला गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन्।
शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उनलाई सम्मान गरिएको हो।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गरेका थिए। मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बनेको बताए।
२०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिएकी रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेर आएकी थिइन्। उनी स्नातकोत्तर तह (एमएड) उत्तीर्ण गर्ने चेपाङ समुदायबाटै जिल्लाकै पहिलो बनेकी हुन्।
रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध छिन्।


