भक्तपुर- भक्तपुरको बालकोटस्थित एक घरमा डेरामा बाबुछोरा मृत अवस्थामा भेटिएका छन्।
जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीन मृत फेला परेका हुन्।
कुलप्रसाद केही दिनअघि मात्रै भक्तपुर आएका थिए। दुई छोरा बस्ने डेरामै उनी बस्दै आएका थिए।
उनीहरू दुवैको हत्या भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए। दुवै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
दुई छोरा बस्दै आएको डेरामै र कान्छा छोरा र बाबु मृत भेटिँदा जेठा छोरा सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
कुलप्रसादकी श्रीमती भने खोटाङस्थित घरमै छिन्।
मृतक कुलप्रसादको घर खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ मा पर्छ। दुवै छोरा ४ वर्षदेखि उक्त डेरामा बस्दै आएका थिए। दुवै जना छुट्टाछुट्टै कोठामा मृत भेटिएका थिए।
मृतक भेटिएको कोठाबाहिरबाट चाबी लगाइएको थियो। तीन तले घरको भुइँतलामा डेरा गरी बस्ने उनीहरूले लिएको कोठासँगैको कोठामा अरु पनि बस्दै आएका थिए। शनिबारदेखि कोठाको चाबी नखुल्दा स्थानीले प्रहरीलाई खबर गरेका थिए।
घटनाको प्रकृति हेर्दा धारिलो हतियार प्रहार गरी दुवैको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।
हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य छोरासँगै भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा मृत फेला परेको खबर पाएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए। ‘जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य बिदामा जाने भनेर मङ्सिर २८ गते प्रशासनमा आउनुभएको थियो। आज यस्तो खबर सुनियो,’ उनले भने।
तस्बिरमा घटनास्थलबाट शव निकाल्नुअघिको अवस्था:



















