काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतबाट पार्टीको कार्यवाहक सभापति तोकेका छन्।
जिल्ला अदालत कास्कीको रोहबरमा रास्वपा सभापति रवि लामिछानेले उपसभापति डोलप्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकेका हुन्।
सभापित लामिछानेले अर्याललाई कावा सभापति तोकेको जानकारी दिन रास्वपाले सोमबार आकस्मिक रूपमा भर्चुअल माध्यमबाट सचिवालयको बैठक बोलाएको थियो। बैठकमा कार्यवाहक महामन्त्री मनिष झामार्फत् उक्त जानकारी केन्द्रीय समितिलाई गराइएको थियो।
‘पार्टी सभापति रवि लामिछानेद्वारा पार्टी उपसभापति श्री डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकिएको व्यहोरा पार्टी सचिवालयलाई जानकारी गराइयो र यस सम्बन्धमा सम्बन्धित सबैमा जानकारी गराउने निर्णय गरियो,’ सचिवालय बैठकपछि रास्वपाले निर्णयबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी विधान २०७९(संशोधन २०८१) को धारा २५(४)(क)(९) बमोजिम मिति २०८१।०९।०६ गते पार्टी सभापतिले उहाँलाई कार्यवाहक सभापति तोकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहवरमा कार्यवाहक महामन्त्रीमार्फत् केन्द्रीय समितिलाई जानकारी गराइएको छ।’
लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न अर्यालले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
बैठकले लामिछानेविरुद्धको मुद्दामा अदालती प्रक्रियालाई सघाउने निर्णय पनि गरेको छ।
‘पार्टी सभापति रवि लामिछाने विरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ्ग गरियो,’ रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उक्त सम्बन्धमा सम्मानित अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरियो।’ रविले अदालतबाट न्याय पाउनेमा आफूहरू विश्वस्त भएको पनि रास्वपाको भनाइ छ।



