काठमाडौँ– एनसेल फाउन्डेसनले २६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ। क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चार ओटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरूप कम्पनीले शैक्षिक सामग्री दिने भएको हो।
यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने छन्। शनिबार समापन भएको एनपीएलमा कूल ६५३ चौका हानिका थिए। त्यस वापत एनसेल फाउन्डेसनले अब घोषणा गरे बमोजिम कूल २ हजार ६१२ ओटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई दिने पक्का भएको हो।
क्रिकेटदेखि कक्षा कोठासम्मको यस नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिइएको छ।
विद्यार्थीहरूले पाउने किटमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटर लगायतका स्टेसनरी सामान समावेश हुनेछन्। यसले स्रोतको अभाव घटाउन सहयोग गर्ने र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ।
एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टका खेलाडी लाहिरु मिलान्थाले हानेका छन्। उनले कुल ३५ चौका हानेर १४० ओटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन्। त्यस्तै दोश्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए। जसबाट १२० शैक्षिक सामग्री र तेश्रोमा लुम्बिनी लायन्सका रोहितकुमार पौडेल हानेका २६ चौका वापत १०४ शैक्षिक सामग्री वितरण हुनेछन्।
त्यसैगरी चितवन राइनोजका रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सेफ अलि जेब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण निश्चित गरेका थिए।
‘क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवै हिसाबले यो एनपीएल एकदमै उत्साहजनक रह्यो। क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्न यो पहलकदमी लिन पाउँदा हामी अत्यन्त खुसी छौँ र यसको लागि हामी क्रिकेट एसोसिएसन नेपाल (क्यान) तथा प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौँ। शैक्षिक सामग्री वितरणको लागि हामी क्यान, सम्बन्धित टिम अन्य सरोकारवालासँग सहकार्य गर्नेछौँ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन्।
नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने मध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा अझै रोमाञ्चकता थपेको थियो। यसले सहयोग र स्रोत बढी आवश्यकता भएकासम्म आवश्यक सहयोग पुर्याउन मद्दत गर्नेछ। सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरूसम्म यी सामग्री पुर्याउनका लागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ।
यी हुन् बढी चौका हान्ने १२ खेलाडी



