काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतले दिएको फैसलाको सम्मान गर्ने बताएका छन्। टीकापुरमा ८ जनाको मृत्यु भएको घटनाको मुख्य दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका नेता चौधरीले केही दिनमा आफूले पुस्तकसमेत प्रकाशनमा ल्याउन लागेको जानकारी गराएका छन्।
‘हामी सम्मानित अदालत हवाई सदा सम्मान गर्छौ, साथै सम्मानित अदालतलाई सवैले उत्तिकै सम्मान गर्नुपर्दछ,’ मंगलबार विज्ञप्ति जारी गर्दै चौधरीले लेखेका छन्, ‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ। हामी अझै न्यायिक पर्खाहमा छौं।’
सामाजिक सञ्जालमा पनि मर्यादित भएर प्रस्तुत हुन उनले आफ्ना समर्थकलाई आह्वान गरेका छन्। यसका साथै केही दिनमा आफूले पुस्तक प्रकाशनमा ल्याउनेसमेत जानकारी गराएका छन्। आफ्नो स्वास्थ्य अवस्था समेत ठिक रहेको उनको भनाइ छ। ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशिलताका साथ कैद भुक्तान गरिरहेको छु। स्वस्थ छु। रतिभर मन विचलित छैन। पुस्तक लेखिरहेको छु। केही दिनमा ‘धरातल’ नामक पुस्तकका साथ तपाईसमझ साक्षात् हुनेछ,’ चौधरीले लेखेका छन्।
टीकापुर घटनामा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएपछि चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर सर्वोच्चले पनि जिल्ला र उच्चको फैसला सदर गर्दै उनलाई जन्मकैदको फैसला गरेको छ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रेशमकी श्रीमती भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री छिन्।

