काठमाडौँ- नेकपा एमालेको साधरण सदस्यसमेतबाट निष्कासनमा परेका नेता भीम रावलले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीको संज्ञा दिएका छन्।
बुधबार पार्टी कार्यालयमा बसको पार्टी सचिवालय बैठकले रावललाई अनुशासनको कारबाही गर्दै साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेको छ।
अध्यक्ष ओलीको चाहनामा भएको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीतापूर्ण भएको टिप्पणी गरेका हुन्। उनले ओलीको यस्तो निर्णयबाट आफूलाई कुनै असर नगर्ने जनाएका छन्।
‘यो ओलीको निरङ्कुश, तानाशाही र स्वेच्छाचारी काम हो। यसले मेरो देशप्रतिको प्रतिबद्धतामा फरक पर्दैन, रावलले अगाडि भने, ‘यो ओलीले गरेको पार्टी र सरकार नेतृत्वको दुरुपयोग हो।’
आफूले ओलीले गरेका संविधान र राष्ट्रहित विपरीतका कामको विरोध गरेकाले आफूमाथि कारबाही गरिएको आरोप लगाए। तीन वर्षअघि चितवनमा भएको महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएकोमा आफूमाथि त्यसको रिस फेरिएको उनको भनाइ छ।
रावल पार्टीको केन्द्रीय सल्लाहकार परिषदका सदस्य हुन्। उनी चार दशकदेखि पार्टीमा सक्रिय थिए।
त्यस्तै पार्टीका दुई जना केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ६/६ महिना पार्टी सदस्यताबाट निलम्बन गरेको छ।
व्यापारी मीनबहादुर गुरुङले पार्टीका लागि कीर्तिपुरमा १० रोपनीभन्दा बढी जग्गामा अत्याधुनिक भवन बनाइदिन शिलान्यास गरेपछि कम्युनिस्ट पार्टीको आचरणविपरीत दान लिन नहुने भन्दै तीन जनाले विरोध गरेका थिए। उनीहरुलाई प्रष्टीकरण सोध्दै पार्टीले कारबाहीको तयारी गरेको थियो।
सर्वोच्च अदालतले त्यसविरुद्ध परेको रिट खारेज गर्दै एमालेलाई दान लिन बाटो खुला गरिदिएपछि अध्यक्ष केपी शर्मा ओलीले त्यसविरुद्ध फरक मत राख्ने नेताहरूमाथि कारबाही गरेका हुन्।
एमालेमा बहस छलफल र फरक मत निषेध रहेको अवस्थामा ओलीको कदमप्रति विमति राख्नेहरूविरुद्ध उनले कडा कदम चालेका हुन्।
सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय पनि गरेको छ।


