काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ। पार्टीका नेता रेशम चौधरालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको विरोधमा उन्मुक्तिले नेपाल बन्दको घोषणा गरेको हो।
यसअघि जेठ ३,४ र ५ गते देशव्यापी राँके जुलुश प्रर्दशन र कोण सभा आयोजना गर्ने पार्टीले जनाएको छ। पार्टी अध्यक्ष रञ्जिता चौधरी सरकारमा सहभागी भएकै अवस्थामा पार्टीले नेपाल बन्दलगायतका विरोधका गतिविधि सार्वजनिक गरेको हो।
तर २०७२ साल भाद्र ७ गते टीकापुमा ९ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। उक्त घटनामा कैलाली जिल्ला अदातल र उच्च अदालत दिपायलले घटनाका मुख्य अभियुक्त रेशम चौधरी रहेको भन्दै उनलाई जन्म कैदको फैसला सुनाएको थियो। त्यसविरुद्ध रेशम सर्वोच्च गएका थिए। तर सर्वोच्चले पनि जिल्ला र उच्चको फैसला सदर गरेपछि उन्मुक्ति आक्रोशित बनेको हो। पार्टीले लाल आयोग प्रतिवेदनसमेत सार्वजनिक गर्न माग गर्दै आएको छ।
घटनामा रेशमसहित ४ जनालाई जन्मकैद, ४ जना १० वर्ष कैद, ८ जना ५ वर्ष, ४ जना ३ वर्ष, १ जना ६ महिना कैदको फैसला सुनाइएको थियो। हालसम्म यो घटना जोडिएका ६ जनाले सफाई पाइसकेका छन्।

उता चौधरीले भने सर्वोच्च अदालतले दिएको फैसलाको सम्मान गर्ने बताएका छन्। डिल्लीबजार कारागारमा रहेका नेता चौधरीले केही दिनमा आफूले पुस्तकसमेत प्रकाशनमा ल्याउन लागेको जानकारी गराएका छन्।
‘हामी सम्मानित अदालत हवाई सदा सम्मान गर्छौ, साथै सम्मानित अदालतलाई सवैले उत्तिकै सम्मान गर्नुपर्दछ,’ मंगलबार विज्ञप्ति जारी गर्दै चौधरीले लेखेका छन्, ‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ। हामी अझै न्यायिक पर्खाहमा छौं।’
सामाजिक सञ्जालमा पनि मर्यादित भएर प्रस्तुत हुन उनले आफ्ना समर्थकलाई आह्वान गरेका छन्। यसका साथै केही दिनमा आफूले पुस्तक प्रकाशनमा ल्याउनेसमेत जानकारी गराएका छन्। आफ्नो स्वास्थ्य अवस्था समेत ठिक रहेको उनको भनाइ छ। ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशिलताका साथ कैद भुक्तान गरिरहेको छु। स्वस्थ छु। रतिभर मन विचलित छैन। पुस्तक लेखिरहेको छु। केही दिनमा ‘धरातल’ नामक पुस्तकका साथ तपाईसमझ साक्षात् हुनेछ,’ चौधरीले लेखेका छन्।

