काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पूर्वउपाध्यक्ष भीम रावल धेरै पर पुगेकाले कारबाही गर्नुपर्ने बताएको खुलासा भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बुधवारको बैठकमा रावलमाथि कारबाही गर्नुपर्ने प्रस्ताव आएपछि ओलीले रावले धेरै पर पुगेकाले अब पुनर्विचार गर्न नसक्ने बताएका थिए।
कारबाहीको प्रस्ताव आएपछि सचिवालयका आधा दर्जन नेताहरूले विरोध गरेका थिए। तर ओली नै रावलप्रति सकारात्मक बन्न नसकेपछि उनीहरूको विरोधले पनि कुनै काम गरेन। अन्तत: रावल एमालेको साधारण सदस्यसमेतबाट निष्काशित भए।
यस्तै नेतृद्वय विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई ६ महिनासम्मका लागि निलम्बन गर्ने निर्णय पनि बुधबारकै बैठकले गरेको छ।
‘उहाँ (रावल) धेरै पर पुगिसक्नुभयो। अब सम्भव छैन,’ ओलीको भनाइ थियो। त्यसपछि ओलीलाई कसैले पनि रोक्न सकेनन्।
तीन जना नेतामाथि कारबाही गर्ने प्रस्तावप्रति सचिवालयका ६ जना नेताहरू विपक्षमा उभिएका थिए। उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले कारबाही प्रस्तावमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए।
शाक्यले कार्यकर्ता पङ्क्तिमा गलत सन्देश जान सक्ने भएकाले कारबाहीका लागि उपयुक्त समय नभएको बताएकी थिइन्। शाक्यको उक्त भनाइमा युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायतले समर्थन जनाएका थिए।
नेताहरुको यस्तो धारणा आएपछि ओलीले रावलको नाम लिँदै कारबाही नगर्ने प्रस्तावको प्रतिवाद गरेका थिए।


