काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई नेकपा माओवादीमा ल्याउन आफू बाधक नभएको बताएका छन्।
सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा शर्माले यस्तो बताएका हुन्।
विप्लव र आफूबिच फाटो ल्याउनका लागि मात्र भ्रम छरिएको उनको दाबी छ। पार्टीले २०६६ तिर विद्रोह र चुनावको दुई धारे नीति अवलम्बन गर्नु कमजोरी भएको उनले बताएका थिए।
‘२०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सार्नु कमजोरी थियो। त्यतिबेला विद्रोह बुझ्नेले विद्रोह बुझ्यो। चुनाव बुझ्नेले चुनाव बुझ्यो। विप्लवजीले विद्रोह बुझ्नुभयो र आफ्नो बाटो लाग्नुभयो’, उनले भने, ‘हाम्रो बिचमा कालो बादल लगाउने विषयमा प्रयत्न गरिएको थियो। त्यो सही होइन।’
माओवादी पुनर्गठनको अभियान आफैँले थालेको जिकिर गर्दै उनले विप्लव र आफूबीचमा राम्रो सम्बन्ध भएको दाबी गरे।
