काठमाडौँ- पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ।
अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिए।
लामिछानेले बिहीवार पनि कास्की जिल्ला अदालतलाई ३ घण्टा लामो बयान दिएका थिए। बयानका क्रममा उनले यसअघि दाबी गर्दै आएजस्तै ‘कुनै पनि विषय थाहा छैन’ भन्ने उल्लेख गरेका थिए।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग छ। आइतबार पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री लामिछानेसहित ४४ जना र ८ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो मागदाबी गरिएको छ। सहकारी ठगीतर्फ लामिछानेलाई ३ करोड ३७ लाख ६५ हजार बिगो कायम गरिएको छ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाबाट जीबी राईको अध्यक्षतामा चलाइएको गोर्खा मिडिया नेटवर्कमा रविका साझेदार रहेका छविलाल जोशीविरुद्ध ५ करोड २६ लाख ६५ हजार बिगो कायम गरिएको छ।
पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग २ करोड १४ लाख ८ हजार ८४३ रुपैयाँ बिगो माग गरिएको छ। उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो।
लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताए। उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाई, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो। सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने छ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ। यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।


