काठमाडौँ- संघीय सरकारले संविधानविपरीत कक्षा १० का विद्यार्थीसँग शुल्क असुल्न थालेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई)का नाममा सरकारले कक्षा १० का विद्यार्थीसँग शुल्क असुल्न थालेको हो।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुन प्रत्येक विद्यार्थीले ५ सय रुपैयाँ तिर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जारी गरेको सूचनामा उल्लेख छ। एक महिनाभित्रमा आवेदन दिइसक्नुपर्नेसमेत सूचनामा उल्लेख छ। आवेदन दिने अन्तिम मिति माघ १२ गतेलाई तोकिएको छ।
रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने कार्यालयले जनाएको छ। सरदर ५ लाख विद्यार्थीले प्रतिवर्ष एसईईका लागि आवेदन दिने गरेका छन्।
संघ सरकार मातहतको परीक्षा नियन्त्रण कार्यालय (राष्ट्रिय परीक्षा बोर्ड) ले विद्यार्थीसँग शुल्क असुली गर्ने सूचना भने संविधानको व्यवस्था विपरीत छ। नेपालको संविधान, २०७२ को धारा ३१ को उपधारा (२) मा माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा नि:शुल्क हुने उल्लेख छ।
‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ,’ उक्त उपधारामा लेखिएको छ।

संविधानको व्यवस्था ।
मौलिक हककै व्यवस्थालाई बेवास्ता गरी सरकारले विद्यार्थीसँग शुल्क असुल गर्न उद्यत देखिएको हो।
संविधानको सोही व्यवस्थाका कारण कक्षा १० का विद्यार्थीसँग शुल्क असुली गर्ने या नगर्ने भन्ने विषयमा विवाद हुँदा परीक्षा आवेदन फाराम रोकिएको थियो। यस्तै कक्षा ९ का विद्यार्थीले भर्नुपर्ने रजिस्ट्रेसन फारम पनि रोकिएको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार कार्यालयले आवेदन फारम खुलाउँदै शुल्क असुली गर्ने भएको हो। अब कक्षा ९ मा रजिस्ट्रेसन फाराम र कक्षा ११ मा अध्ययनरत विद्यार्थीका रजिस्ट्रेसन फारामका लागि शुल्क असुली गर्ने बाटो खुला भएको छ।
माध्यमिक तहको शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था कार्यान्वयन गर्ने हो भने सरकारी तहबाट नै सुरुवात गर्नुपर्ने आवाज उठेपछि यी शीर्षकमा शुल्क लिन नहुने आवाज उठेको थियो। तर उक्त आवाजलाई दबाबउँदै सरकार शुल्क असुलीतर्फ केन्द्रित भएको हो।
बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फाराम यसअघि नै खुलाइसकिएको छ। बोर्डको सूचना अनुसार विद्यालयहरूले कात्तिकमै विद्यार्थीलाई फाराम भर्न लगाएर सङ्कलनसमेत गरिसकेका छन्। तर रजिस्ट्रेसनका लागि विद्यार्थीसँग शुल्क लिन नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्कालका लागि रजिस्ट्रेसन फाराम भर्ने कार्य स्थगित गर्न बोर्डलाई निर्देशन पनि दिएको थियो। तर कक्षा ११ मा रजिस्ट्रेसन शुल्क लिने पक्षमा नै निर्णय हुन सक्ने कुरा पनिकाको पछिल्लो सूचनाले संकेत गरेको मन्त्रालयका एक अधिकारी बताउँछन्।
विद्यालय तहमा अहिले कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिस्ट्रेसन फारम भराउने गरिएको छ। कक्षा ९ र ११ दुवै माध्यमिक तह भए पनि दोहोरो रजिस्ट्रेसन गर्नु उपयुक्त नहुने तर्क पनि उठ्ने गरेपनि कक्षा ९ र ११ कक्षामा पढ्ने विद्यार्थीको विषय फरक फरक हुने भएका कारण दुवै कक्षामा रजिस्ट्रेसन फाराम भराउनुपर्ने तर्क सरकारको छ।
कक्षा ९ र कक्षा ११ मा बर्सेनी पाँच लाखकै हाराहारीमा विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने गरेका छन्। कक्षा ९ मा रजिस्ट्रेसन भराउँदा प्रतिविद्यार्थी ३५० रुपैयाँ र कक्षा ११ मा रजिस्ट्रेसन भराउँदा प्रतिविद्यार्थी ४ सय रुपैयाँ लिने गरिएको छ।



