काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वर्तमान सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन्।
शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले पचासौँ वर्षदेखि यहाँका व्यक्तिको जग्गा लुटिएको भन्दै सरकारले कुनै प्रक्रिया अघि नबढाएको आरोप पनि लगाएका हुन्।
‘जग्गाधनीलाई विशेष धन्यवाद। पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन। कमजाेर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो,’ मेयर बालेनले भने, ‘यसपालि दुईतिहाइको सरकार छ। त्यही पनि केही गरेकै छैन। कुनै पनि प्रोसेस भएको छैन। व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो। यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन। चाँडै होस् भन्ने शुभकामना मात्रै दिन सक्छ।’
प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकार (वडा)को नेतृत्व गरिरहेका व्यक्ति पनि एकै दलका हुँदासमेत समाधान नभएको विवाद कहिल्यै पनि नहुने उनको भनाइ थियो।
‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोतसाधन आफ्नै। हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ मेयर बालेनले भने, ‘अहिले पनि यो काम भएन भने कहिल्यै हुँदैन। आफ्नो स्थानीय सरकारलाई विस्तारै भन्नुहोला। मलाई पनि भन्नुहोला। हाम्रो त उमेरभन्दा पनि बढी भइसक्यो यहाँको जग्गा लुटिएको।’
महानगरपालिकाका अनुसार तीनकुनेमा ४६ रोपनी जग्गा छ। जसमध्ये २१ रोपनीको मुआब्जा वितरण भइसकेको छ। सरकारले मुआब्जाका लागि १५ करोड रुपैयाँ छुट्याएकोमा प्रतिआना तीन लाखका दरले २१ रोपनी ११ आना दुई पैसा १ दशमलव ९ दाम जग्गाका धनीलाई १० करोड ८० लाख रुपैयाँ वितरण गरिसकेको छ।
बाँकी २५ रोपनी जग्गाका धनीले हालसम्म मुआब्जा लिन मानेका छैनन्। उनीहरूले अहिलेको चलनचल्तीको भाउमा मुआब्जा पाउने पर्ने माग गरेका छन्।
उता सिनामंगलतर्फ र कोटेश्वरतर्फको सडक क्षेत्रको झन्डै ८ रोपनी जग्गामा पनि मुआब्जा पाउनुपर्ने स्थानीयको माग छ।
महानगरपालिकाका अधिकारीका अनुसार जग्गाधनीले सडकको बीचबाट २५ मिटर दायाँबायाँको जग्गाको पनि मुआब्जा पाउनुपर्ने माग गरेका छन्। तर, सडक क्षेत्राधिकार (राइट अफ वे) भित्रको जग्गा पहिल्यै अधिग्रहण गरिसकेकाले त्यसको मुआब्जा दिन नमिल्ने महानगरपालिकाका अधिकारी बताउँछन्।


