काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको छ।
शुक्रबार बसेको सचिवालय बैठकले १९ देखि २१ पुससम्म बस्ने गरी केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको हो।
सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराई मनोनीत गरिएको छ।
साथै, संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र डा. विमल तिवारीलाई मनोनीत गरिएको छ ।
बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले सामाजिक राजनीतिक परिस्थितिबारे समीक्षा गरेका थिए।
कावा महामन्त्री कवीन्द्र बुर्लाकोटीले ६० जिल्लामा भेला सम्पन्न भएको विवरण पेस गरेका थिए।
पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछानेको सांसद पद नै निलम्बनमा परेपछि कार्यवाहक नेताको तोक्न पार्टीले सचिवालय बैठक बोलाएको थियो। तर बैठकले उक्त सम्बन्धमा कुनै पनि निर्णय गर्न नसकेपछि केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ।
यसअघि निलम्बनमा परिसकेका सभापति लामिछानेले पार्टीका उपसभापति डीपी अर्याललाई टीके शैलीमा कार्यवाहक सभापति बनाइएको भन्दै विरोध भएपछि विस्तारित बैठकबाटै दलको कार्यवाहक नेता तोक्ने तयारी गरिएको हो।
एक नेताका अनुसार संसदीय दलको कार्यवाहक नेता तोक्नेबारे छलफलका लागि सचिवालय बैठक बोलाइएको थियो। तर उक्त विषयलाई विस्तारित केन्द्रीय समितिमा लैजाने सहमति भएको बताइएको छ।
रास्वपा संसदीय दलको कार्यवाहक नेता बन्न पार्टीमा ५ जना आकांक्षी छन्। संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेतामा दाबी गरेका छन्।
डीपी कार्यवाहक सभापतिसमेत रहेकाले उनलाई नै संसदीय दलको कार्यवाहक नेता तोक्ने गरी प्रस्ताव लैजाने तयारी गरिएको थियो। तर विरोध स्वर आउने भएपछि तत्कालका लागि उक्त विषयलाई स्थगन गरिएको हो।
संसदीय दलका उपनेता विराजभक्तले आफू स्वतः संसदीय दलको उत्तराधिकारी भएको धारणा राखेका छन्।
उता सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीका केन्द्रीय सदस्य मात्र भएको म्यासेन्जर ग्रुपमा आफू संसदीय दलको कार्यवाहक नेतामा आउन इच्छुक रहेको बताइसकेकी छन्। निलम्बित भइसकेपछि सभापति रवि लामिछानेले हिरासतबाटै डीपीलाई कार्यवाहक सभापति बनाएको भन्दै उनले विरोध गरेकी छन्। उनले रविको उक्त कदमलाई ‘टीके शैली’ पनि भनेकी छन्।
उपसभापति डा स्वर्णिम पक्षधरले भने समानुपातिक तर्फबाट आएका सांसदलाई दलको कार्यवाहक नेता तोक्दा सकारात्मक सन्देश नजाने तर्क गर्न थालेका छन्। डा चन्दाले कार्यवाहक नेता पदका लागि आफू अनुभवी भएको भन्दै दाबी गरेकी छन्।



