काठमाडौं- गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन्। जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले मिति २०८० जेठ ३ गते देखि लागु हुने गरि आगामी ४ वर्ष अवधिको लागि उपाध्यायलाई प्रमुख अधिकृत पदमा नियुक्त गरेको हो।
सिराहा जिल्ला, सिराहा नगरपालिका-१ स्थायी घर भई हाल नयाँ बानेश्वर, काठमाडौँ बसोवास गर्दै आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुर्दै प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव लिएका छन्। २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन्।
व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको छ।
धनकुटा जिल्ला धनकुटा नगरपालिका-७ धनकुटा बजारमा केन्द्रीय कार्यालय र बुढीगंगा गाउँपालिका-१ पुष्पलाल चोक विराटनगरमा कर्पोरेट कार्यालय रहेको वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लामा ३३ वटा शाखा कार्यालयमार्फत २० हजारभन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ।
