काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धु, वाइडबडी र ओम्नीको भ्रष्टाचार आफूहरूले नछाड्ने अभिव्यक्ति दिएका छन्।
कञ्चनपुर-१ मा पर्ने पुनर्वासमा शनिबार खबरदारी तथा पार्टी एकता समायोजन सभा आयोजना गरी दाहालले यस्तो बताएका हुन्।
भ्रष्टाचार फैलाउने पक्षको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्को सरकारले धेरै काम गरेको आरोप प्रचण्डले लगाएका थिए।
‘म तपाईंहरूलाई भन्न चाहन्छु गिरिबन्धुको फाइल खुल्ने छ, त्यसलाई लुकाउन दिइने छैन। ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन। वाइडबडीको भ्रष्टाचार छोडिने छैन,’ उनले भनेका थिए। तर त्यसका लागि माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी भएको उनको भनाइ थियो। माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने बताए।
माओवादी पार्टी एक नम्बर भए मात्रै सामाजिक न्याय र समाजवादको आधार तयार हुने प्रचण्डको जिकिर थियो। अहिले देशैभरि माओवादीमा एकताबद्ध तथा समायोजन हुने लहर चलेको प्रचण्डको दाबी छ।
‘पर्सि झापा जाँदैछु। केपी ओलीको निर्वाचन क्षेत्रमा पनि हजारौँ प्रवेश गर्ने तयारी छ,’ उनले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको राजनीतिक मैदानमा आफूहरूले कमजोर पार्न सक्ने बताएका थिए।
अर्को पल्ट माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुने भन्दै उनले भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुने बताए।
प्रचण्डले आज सम्बोधन गरेको कार्यक्रम कञ्चनपुर-१ मा पर्छ। यही क्षेत्रबाट उनकी बुहारी बिना मगरले २०७९ सालको चुनावमा पराजय व्यहोरेकी थिइन्। उक्त क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ निर्वाचित भएका थिए।
प्रचण्डकी बुहारी विना निकटतम प्रतिद्वन्द्वी मात्र बन्न सकिन्। ताराले विनालाई ५ हजार ५४६ मतान्तरले पराजित गरे। ताराले २४ हजार ८९२ मत ल्याउँदा विनाले १९ हजार ३४६ मत ल्याएकी थिइन्।
विनालाई नेपाली कांग्रेसको पनि समर्थन थियो। त्यति हुँदा पनि विनाले जित्न नसकेको ठाउँमा पुगेर प्रचण्डले ओलीको क्षेत्रमा एमालेलाई कमजोर पार्ने उद्घोष गरेका हुन्।
कञ्चनपुर १ संसदीय निर्वाचन क्षेत्रमा बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका सबै वडाहरू समावेश छन्।


