काठमाडौँ – चीन र भारतबीच लिपुलेक भन्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आपत्ति जनाएको छ।
पुस ३ गते बेइजिङमा भारत चीनका अधिकारीबीच उक्त सहमति भएको थियो। शनिबार नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सो सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ- ‘चीन र भारतका अधिकारीहरूबीच पुस ३ (डिसेम्बर १८) गते बेइजिङमा सन् २०१५ मा सहमति भएर कोभिड-१९ का कारण बन्द भएको लिपुलेक भन्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’
२०७७ जेठमा नेपालको प्रतिनिधिसभाले कालापानी, लिम्पियाधुरा र लिपुलेक भन्ज्याङसहित भूभाग समेटेर नक्सा समेत सार्वजनिक गरिसकेको जनाउँदै उक्त पार्टीले नेपालको भूभाग प्रयोग गर्ने सहमतिमा नेपालसँग सहकार्य नगरी भएको चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरिएको बताएको छ।
‘चीन र भारत आफ्नो सार्वभौमिकताप्रति जति गम्भीर छन् नेपालको अखण्डता र स्वतन्त्रताप्रति पनि गम्भीर हुन आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।
नेकपाले पुस ३ गते भएको भारत र चीन बीचको सहमति खारेज गराउन र राष्ट्रिय अखण्डताको रक्षार्थ आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग समेत गरेको छ।



