काठमाडौँ- उमेर हद ३२ वर्ष राख्ने कि नराख्ने भन्ने विषयमा भएको मतदानको मतगणनामा आफ्नो पक्ष पछि परेपछि अखिल क्रान्तिकारीमा बबन्डर सुरु भएको छ।
३२ वर्ष उमेर हद राख्नुपर्ने पक्षमा बढी मत आएपछि उमेर हद राख्न हुन्न भन्ने पक्षले बबन्डर सुरु गरेको हो। उमेर हद राख्न हुन्न भन्ने पक्षले हार्ने डरले अवरोध खडा गरेपछि मतगणना रोकिएको छ।
उमेरहदको विषय टुंग्याउन शनिबार देशभर तोकिएको मतदान केन्द्रमा मतदान भएको थियो। तर, जिल्लाको परिणाम आएपछि उजुरी परेको भन्दै मतगणना स्थगन गरिएको छ।
यसअघि उमेरहद १८, २५, ३२ कति राख्ने भन्नेमा लामो समय विवाद हुँदा माओवादी केन्द्रले ३२ माथि मतदान गरेर जान निर्देशन दिएको थियो।
गत असोज १०-१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको २३औं सम्मेलनमा उमेर हदको विवाद चर्किँदा कुनै निर्णय नै नगरी बन्दसत्र स्थगन गरिएको थियो।
शनिबार ७७ भौगोलिक र अरू गैरभौगोलिक गरी ८६ जिल्लामा निर्वाचन भएको थियो। साँझ ७ बजेसम्म सबै जिल्लाबाट परिणाम आएको थियो। परिणामअनुसार ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा ९१७ र विपक्षमा ८८४ मत आएको थियो।
विद्यार्थीहरूको उजुरी परेको भन्दै निर्वाचन गराउन बनाइएको आयोगले मत परिणाम सार्वजनिक गर्न स्थगित गरेको सूचना सार्वजनिक गरेको थियो।
‘जिल्लाहरूको मतदान केन्द्रबाट निर्वाचनसम्बन्धी कागजपत्र प्राप्त हुन बाँकी भएकाले उक्त कागजपत्रहरू प्राप्त भएपछि मात्रै मत गणनाले पूर्णता पाउने हुँदा तत्पश्चात मतगणनाको परिणाम सार्वजनिक गरिने व्यहोरा सबैलाई जानकारी गराउन चाहन्छौं,’ शनिबार साँझ निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।
अखिल (क्रान्तिकारी) का २ हजार ४ सय ५ जना प्रतिनिधि रहेकोमा १ हजार ८ सय १ जनाले मतदान गरेका थिए।
मुक्तिनारायण प्रधानको नेतृत्वमा निर्वाचन समिति बनेको छ।
नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ। विद्यार्थी संगठनमा विवाद देखिएपछि त्यसबारे छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक समेत बोलाएको हो।
शनिबार बेलुका ७ बजे मत गनेर सकिएपनि परिणाम सार्वजनिक नगरी निर्वाचन समितिका पदाधिकारीहरू पार्टीका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। खुमलटारमा छलफलपछि अध्यक्ष प्रचण्डले माओवादी बैठक बोलाएका हुन्।


