काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।
मन्त्री डा. राणाले आज साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्व. सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उनप्रति श्रद्धाञ्जलि अर्पण गरेकी हुन्।
राणाले उक्त शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा. सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र रहेकी लेखेकी छन्।
उक्त पुस्तिकामा मन्त्री डा. राणाले स्व सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गर्नुभएको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण उनी सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गरिन्। मन्त्री डा. राणाले सिंहको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताइन्।
भारतीय पूर्वप्रधानमन्त्री डा. सिंहको उपचारका क्रममा गत बिहीबार ९२ वर्षको उमेरमा निधन भएको थियो।


